काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झण्डै पाँच अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ११ दशमलव ६४ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ पटकको कारोबारमा ९२ हजार तीन सय २६ पटकको कारोबारमा एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स उपसमुहको सुचक सामान्य अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।