काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन महासंघ नेपाल(क्यान महासंघ) द्वारा आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को बिहीबार शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए ।
सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि ‘आईटीपार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नुरहेको बताउँदै उनले यस वर्षभित्र काठमाडौंमा ‘आईटीपार्क’ स्थापना गर्ने दाबी गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेर्मवर्क बनाउने लक्ष्य साकार पार्न आफू मन्त्रालयको तर्फबाट इन्फ्रास्ट्रक्चर, आईटी नीति, एआई नीतिलगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको बताए । मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको जानकारी दिए । साथै, यसै वर्षभित्र सात सय ५३ पालिकामा फोरजी सेवा सबैका घर–घर पु¥याउने र फाइभ जी सेवा काठमाडौंबाट सुरुवात गर्न मन्त्रालय सक्रिय रहेको बताए ।
साउथ एसियामै एआईको नीति बनाउने विषयमा नेपालपछि परेको उनले स्वीकार गरे । ‘सूचना प्रविधिको भरपूर प्रयोग नगरे अबको समय हामी निकैपछि परिन्छ’, उनले भने । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमा समेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको बताएका थिए । प्रधानमन्त्री ओलीले क्यानजस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुने उल्लेख गरे ।
कार्यक्रममा क्यानकी अध्यक्ष सुनैना घिमिरे पाण्डेलेले सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताइन् । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत उनले जानकारी दिइन् । यस्तै, उनले डिजिटल नेपाल निर्माणमा क्यान इन्फोटेकले सहयोग पुग्ने बताइन् । प्रदर्शनीमा राखिएका प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको भनाइ थियो ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको ३०औँ संस्करणको ‘क्यान इन्फोटेक २०२५’ माघ २८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा मुख्य आकर्षणका रूपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरू, एप्सन ब्रान्डका प्रिन्टरलगायत रहेका छन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधिसम्बन्धी अन्तक्र्रियात्मक छलफलका कार्यक्रम हुनेछन् । क्यान इन्फोटेक २०२५ मा १५० स्टल रहेका छन् । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा छ । ३०औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ ।