काठमाडौं । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । यही माग २३ गते बुधबार बसेको सञ्चालक समितिको ५०९ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मीलाई नियुक्त गरेको हो । उनी २०८१ साल माघ २३ गतेदेखि लागु हुनेगरी विकास बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएको बैंकले जानकारी दिएको छ ।
वरिष्ठ अधिवक्ता रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानुन विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकारअन्तर्गत विभिन्न क्षेत्रमा पनि कानुनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध रहेका छन् । नेपाल मध्यस्थता परिषद्को आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् । रेग्मीले बैंकिङ कानुन तथा संस्थागत सुशासनसम्बन्धी पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरू एवम् जर्नलहरूमा आलेख प्रकाशित गरेका छन् ।
सञ्चालक रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानीमार्फत हरेक वर्ष १८ सय ८७ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।