बुटबल । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ‘सिद्धार्थ कटेज’ सञ्चालनमा आएको छ । सो कटेजको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् । सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गरेका थिए ।
कटेजमा हाल यस क्षेत्रकै उत्कृस्ट र सुबिधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधा सहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधासम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । ‘यसअघि बुटवलको चौराहमा विगत १३ वर्षदेखि सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ’, न्यौपानेले भने ।
करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण भएको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गरिएको उनले बताए । उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तीमा एक सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौंको तीनकुने र धोबीघाट, बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ । सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँचतारेस्तरमा सिद्धार्थ भिलासा, चारतारेस्तरमा सिद्धार्थ वैभव र तीन तारेस्तरमा सिद्धार्थ बाटिका ब्रान्का होटलका साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेलगायतका ब्रान्ड सञ्चालनमा छन् ।