काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ । ‘द ब्लु पेभेलियन’को शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रहरी कर्मचारीलाई स्वस्थ, चुस्तदुरुस्त र तनावमुक्त बनाउने अभिप्रायले सो भवन निर्माण गरिएको हो । कुल ७५ करोड ८७ लाख २९ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङलगायत सुविधा रहेको छ । भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
प्रहरीले जनताको अपेक्षाअनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानुनबमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए । यस्तै, गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको बताए । कार्यक्रममा उनले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध मुख्य चुनौतीको रूपमा देखिएको बताउँदै यसको न्यूनीकरण एवम् नियन्त्रणमा प्रहरी कर्मचारीहरू थप ऊर्जाशील, व्यावसायिक, मेहनती र परिश्रमी भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको आन्तरिक सुरक्षा एवम् कानुनको परिपालना र शान्ति सुव्यवस्था कायम गर्ने राज्यको प्रमुख जिम्मेवारी बहन गर्ने नेपाल प्रहरी नागरिकको सुरक्षा, सेवा र भरोसाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गरे । प्रहरीबाट प्रवाह हुने सेवाको प्रभावकारिता तथा कार्यसम्पादनको स्तरलाई प्रत्यक्षरूपमा साधन स्रोत, सुविधा र संरचनाहरूले प्रभाव पार्ने भएकाले नेपाल प्रहरीको समग्र विकासको लागि संगठन आफैँमा व्यवस्थित र पूर्वाधारले सुसज्जित हुनु अपरिहार्य रहेको र यसका लागि गृह मन्त्रालय सदैव चिन्तनशील र संवेदनशील रहेको उनले बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले मुलुकको आन्तरिक सुरक्षा व्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्था कायम राखी सामाजिक सद्भाव र एकता कायम राख्दै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निष्ठापूर्वक बहन गर्दै आएको बताए । हालको विश्वव्यापी परिवेश, प्रविधिको उच्चतम विकास र प्रयोगसँगै हुने गरेको दुरूपयोग, बहुक्षेत्रीय सुरक्षा चुनौतीहरू साम्प्रदायिक अतिवादलगायतका गतिविधिहरूलाई सम्बोधन गर्न नेपाल प्रहरी दृढतापूर्वक कटिबद्ध रहेको उनले बताए । साथै, नवनिर्मित भवनले अत्यन्त चुनौतीपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई शारीरिक तन्दुरूस्ती एवम् मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्ने समेत उनले बताए ।