काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनसँगको सहकार्यमा बैंकिङ एन्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायी र बैंकबीच रहेको दूरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको थियो ।
पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए भने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसीए विमन कार्की र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष तथा व्यवसायी सूर्यभक्त अधिकारी वक्ताको रूपमा थिए ।
कार्यक्रममा एफसीए विमन कार्कीले आर्थिक चक्रका हरेक चरणहरूमा बैंक र व्यवसायीबीच फरक मत रहने भए पनि प्रचलित कानुन र नियमको अधिनमा नरहने व्यवसायीलाई आर्थिकरूपमा दबाब पर्ने भएकाले नेपाल राष्ट्र बैंक तथा बैंकहरूले निर्धारण गरेका नियमलाई पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष तथा युवा व्यवसायी सूर्यभक्त अधिकारीले व्यवसायी कोभिड–१९ को चपेटावाट अगाडि बढ्न नपाउँदै नियमनकारी निकायका विभिन्न नीतिहरूले व्यवसायी थप आक्रान्त बनेको र व्यवसायबाट पलायन हुन सक्ने जोखिम रहेको बताए । उनीहरूले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरू अग्रसर हुँदा व्यवसायीहरूलाई असहज महसुस भए पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए ।
चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाइ, कोभिड–१९पश्चातको कर्जा विस्तार, सडक सञ्जालको ढिलो निर्माण, युवा जनशक्तिको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरू पलायन हुन सक्ने भएकाले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले सो विषयमा ध्यान दिनुपर्ने बताए ।