काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय प्रतिष्ठानमा विद्युत्को प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा, गुणस्तरको मापनलगायत ध्यान दिनुपर्ने विषयहरूलाई समेटी एक दिने निःशुल्क तालिम सञ्चालन गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा शुक्रबार भएको कार्यक्रममा विद्युतीय सुरक्षा, उत्पादन गुणस्तर र अनुप्रयोगमा उदीयमान प्रवृत्तिहरूका बारेमा जानकारी गराइएको थियो । संघकी कार्यकारिणी सदस्य एवं ऊर्जा समितिका संयोजक सुशील सुरानाले सो तालिम कार्यक्रम संचालन गरेकी थिइन् । विभिन्न औद्योगिक÷व्यावसायिक प्रतिष्ठानका इलेक्ट्रिसियन तथा विद्युत् प्राविधिकलाई प्रशिक्षण दिने उद्देश्यले सञ्चालित उक्त तालिममा भारतका विद्युतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौंका इन्जीनियर मनीष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, महिला र युवा उद्यम समिति सदस्यहरू, विभिन्न औद्योगिक÷व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।