काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने चार दशमलव छ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानीसम्बन्धी सम्झौतामा आज बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७ दशमलव ३७ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८ दशमलव ६२ गिगावाट आवर र हिउँदमा आठ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल र विनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा छ महिनाअघि चार दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ साथै कम्पनिको प्राथमिक सेयर निष्काशन तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ । हाइड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाइड्रोपावर आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको छ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गरी प्राथमिक सेयरमा गई छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ । आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै वर्ष सुरू गर्ने गरी थप २२ मेगावाट क्षमताको जल्दीगाढ हाइड्रोपावर बनाउने कम्पनीले जनाएको छ ।