काठमाडौं । शिक्षा एक यस्तो अवयव हो जसले मानिसको जीवनको हरेक पक्षमा योगदान गरेको हुन्छ । शिक्षा भएन भने मानिसले आफूलाई अघि बढाउन सक्दैन । यही कुरा बुझेर प्रत्येक मानिस शिक्षाको लागि अघि बढेको हुन्छ । जीवनलाई सफल बनाउने काम शिक्षाको विकासबाट नै सम्भव भएको हुन्छ । राज्यले शिक्षाको लागि ठूलो धनराशि लगानी पनि गरेको हुन्छ । शिक्षामा भएको लगानीले धेरै उपलब्धि दिएको हुन्छ । एउटा बच्चालाई राम्रो शिक्षा दिन सकियो भने उसले आफू, परिवार, समाज र देशको अनुहारलाई नै उज्ज्वल बनाउन सक्छ । यसको अर्थ समृद्ध देश–सुखी जनता हुन सक्छन् ।
गरिब मुलुकहरूको लागि शिक्षाको विकास गर्न त्यति सजिलो भने हुँदैन । शिक्षाको विकास गर्न वित्तीय साधन साधन स्रोतको आवश्यकता पर्छ । वित्तीय साधनको अभावले गर्दा अल्पविकसित देशहरूका लागि सर्वसुलभ शिक्षा उपलब्ध गराउन सहज हुँदैन । जसको कारणबाट आमनागरिकको जीवनस्तर खस्किँदै गएको हुन्छ । सबै नागरिकलाई शिक्षा दिन ठूलै साधन स्रोतको आवश्यकता पर्छ । राज्यको ढुकुटी शिक्षाको विकासका लागि मात्र प्राथमिकतामा पार्दा अन्य क्षेत्रहरू ओझेलमा पर्ने सम्भावना पनि त्यत्तिकै हुन्छन् । सबै क्षेत्रको सन्तुलित विकास गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
शिक्षालाई विभिन्न अर्थमा लिइए पनि सबैले बुझ्ने अर्थ भनेको सिक्नु, सिकाउनु तथा ज्ञान प्राप्त गर्नु नै हो । यसको बहुआयामिक महत्व भएको हुनाले नै शिक्षाको क्षेत्र विस्तार हुँदै गएको छ । व्यक्तिको चरित्र निर्माणदेखि ठूलाठूला आविष्कारको लागि पनि शिक्षा नै अपरिहार्य हुने गर्छ । शिक्षाले विभिन्न विषयगत क्षेत्रको विकास गरेको हुन्छ । एउटा डाक्टरले औषधि विज्ञानको शिक्षा प्राप्त गरेर मानिसको जीवन रक्षा गरेको हुन्छ भने एउटा इन्जिनियरले आफूले प्राप्त गरेको शिक्षाले ठूलाठूला विकासका पूर्वाधारहरू सम्पन्न गरेको हुन्छ । त्यस्तै, एउटा शिक्षाविद्ले बालबालिकालाई राम्रो शिक्षा दिएर भविष्यका कर्णधार बनाउन सम्भव गराएको हुन्छ भने एउटा सिकर्मीले राम्रो फर्निचर बनाएर मानिसको जीवनलाई सहज बनाउन सक्छ । यसरी शिक्षाका विभिन्नरूप हुन्छन् र देश विकासको लागि सबैको उत्तिकै योगदान हुन्छ । विभिन्न किसिमका शिक्षाको विकास गरेर नै देशको चौतर्फी विकास गर्न सकिन्छ ।
व्यक्तिको व्यक्तित्व विकास गर्नदेखि समाजलाई सभ्य र परिस्कृत गर्ने कार्य शिक्षाबाटै हुन सक्छ । व्यक्तिले प्राप्त गरेको ज्ञानको प्रयोगबाट समाजमा रहेका अनेक प्रकारका अन्धविश्वास र कुसंस्कारहरूलाई हटाउन सकिन्छ । शिक्षा व्यक्तिको लागि एक प्रकारको गहना हो जुन गहनाले व्यक्तिलाई सुन्दर बनाउने कार्य त गर्छनै, त्यसको अलावा परिवार, समाज, राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा समेत सहयोग पुर्याएको हुन्छ । त्यसैले गर्दा आजको युगलाई शिक्षाको युग भन्ने गरिन्छ । आज विश्वमा नै शिक्षालाई कसरी विकासमूलक र व्यक्तिको व्यक्तित्व विकासमा कुन प्रकारले सहयोगी भूमिका प्रदान गराउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित भएको पाइन्छ ।
यहाँ जोड्न खोजिएको विषय भनेको शिक्षा शिक्षाको लागि मात्र नभई विकासका लागि हुनुपर्दछ भन्ने हो । शिक्षा नै विकासको जननी हो । जसरी कुनै आमाले बच्चालाई जन्म दिएकी हुन्छिन् त्यसरी नै शिक्षाले विकासको जन्म दिएको हुन्छ । शिक्षा यस्तो विषय हो जसले अरू क्षेत्रहरूको जन्म र विकासमा ठूलो सहयोग पुर्याएको हुन्छ । शिक्षालाई ज्ञान मात्र हो भन्नेतर्फ संकुचन नगरी बृहत्रूपमा लिनुपर्छ । शिक्षाअन्तर्गत बुद्धि, सीप, कौशलता, ज्ञानजस्ता विषयहरूलाई लिइएको हुन्छ ।
विकास नभए पनि मानिस बाँच्न सक्छ । तर, शिक्षा भएन भने मानिस बाँच्न सक्दैन । यहाँ प्रश्न आउन सक्छ नपढेका मानिस पनि त बाँचेकै छन् त ? एकैछिन हामी मानिसको जन्मतिर जाऔँ । जब बच्चा जन्मिन्छ, तुरुन्तै उसले च्याँ गरेर रुन थाल्छ । उसले रुने सिप आमाको गर्भदेखि नै लिएर आएको हुन्छ र उसको रुवाइको कार्यलाई यहाँ उसले प्राप्त गरी आएको शिक्षाको रूपमा लिन सकिन्छ । पछि उसले यसैलाई शिक्षाको रूपमा विकास गर्दै गएको हुन्छ ।
शिक्षालाई कुनै उपकरणसँग तुलना गर्न पनि सकिन्छ । जसरी कुनै पनि भुत्ते हतियारलाई उध्याउँदै गइयो भने धारिलो हुन्छ र काम पनि गर्छ । तर, उध्याउने काम गरिएन भने त्यो भुत्तेनै भई दिन्छ र काम गर्न सक्दैन । काम गर्न नसकेको अवस्थामा नतिजा दिने कुरै भएन । शिक्षा पनि त्यस्तै हो । एउटा बच्चाले सिसाकलम राम्रोसँग तिखारेर जसरी राम्रो अक्षर लेखेको हुन्छ । त्यसरी नै शिक्षाको ज्योतिलाई तिखार्दै जानुपर्छ । एउटा पेन्सिलको टुप्पाले कागजसँग संघर्ष गरेर जसरी सुन्दर अक्षर निर्माण गरेको हुन्छ, त्यसरी नै शिक्षासँग संघर्ष गरेर भविष्य निर्माण गर्न सक्नुपर्छ ।
शिक्षा यस्तो वस्तु रहेछ हरेक मानिसलाई उसको व्यक्तित्व विकास गर्नेदेखि लिएर जीवनयापन गर्न सहजता प्रदान गर्छ । पढेको मान्छे छ भने ऊ जहाँ पनि बिक्न सक्छ । त्यसैले भन्ने गरिन्छ विद्वानलाई सर्वत्र इज्जत गरिन्छ । उसले आफ्नो ज्ञान, सीप, कौशलता, विज्ञताको माध्यमबाट जीवनका हरेक कार्यमा सफलता प्राप्त गर्न सकेको हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने झमक कुमारी घिमिरेको शारीरिक अवस्थाबारे धेरैलाई थाहा नै छ । जन्मजातदेखि नै हात गोडाले काम नगरेका र दिसापिसाब गर्न समेत नसक्ने पूर्ण अपाङ्ग भएकी उनले शिक्षा हासिल गर्न कति ठूलो संघर्ष गर्नुप¥यो । उनले लेखेको जीवन काँडाकी फूल भन्ने पुस्तकमा आफ्नो इतिहास लेखेकी छन् । उक्त पुस्तक पढ्दा जो कोहीको आँखाबाट आँसु झरेकै हुन्छ । अहिले उनको नाम साहित्यिक क्षेत्रमा अबल दर्जामा देखिन्छ । नेपालमा रहेका ठूलाठूला साहित्यिक पुरस्कारबाट पनि उनी सम्मानित भएकी छन् । यदि उनले स्वाध्ययनबाट शिक्षा हासिल नगरेकी भए उनको जीवनयापन कति कष्टकर हुन्थ्यो होला सहजै अनुमान गर्न सकिन्छ ।
कतिपय अपाङ्गहरू मुखले कुची समाएर क्यान्भासमा चित्र कोरी रहेका हुन्छन् । उनीहरूूलाई अपाङ्ग भएजस्तो लाग्दै लाग्दैन । सबल व्यक्तिभन्दा उनीहरू कुनै हालतमा पनि कम छैनन् । उनीहरूले मनग्गे आम्दानी गर्न सक्छन् । मुखले कुचि चलाएर बनाएका चित्र भनी देश विदेशमा बिक्री गर्न भ्याइनभ्याइ छ उनीहरूलाई । चित्र बनाउने शिक्षाले नै उनीहरूलाई यहाँसम्म ल्याइपुर्याएकोे हो । यदि यो शिक्षा उनीहरूले प्राप्त गर्न नसकेको भए, सायद उनीहरूको जीवन कस्तो पीडादायी हुने थियो होला ?
शिक्षा बहुआयामिक भएकाले यो कुनै एक आयामसँग मात्र सम्बन्धित नभई विविध आयामसँग सम्बन्धित भएको हुन्छ । ज्ञान, बुद्धि, सीप, दक्षताजस्ता तत्वहरूको समग्रता नै शिक्षा हो । यी तत्वहरूको ग्रहणशीलताबाट मानिसले शिक्षाको माध्यमद्वारा आफ्नो व्यक्तित्व विकास गरेको हुन्छ ।
निश्चय नै सबैले शिक्षाको महत्व बुझेका हुन्छन् । मानिसले प्रगति गर्ने माध्यम भनेको नै शिक्षा हो । शिक्षा प्राप्त गर्न सकिएन भने जीवनको कुनै अर्थ रहँदैन । जीवनको अस्तित्व कायम गर्न पनि शिक्षा नै चाहिन्छ । विकास निर्माण कार्य सन्चालन गर्न पनि शिक्षा नैै आवश्यक पर्छ । यसरी जीवनका विभिन्न पक्षहरूको विकास गर्नको लागि मुख्य भूमिका निभाउने काम नै शिक्षा हो ।
शिक्षाको महत्वलाई बुझेर नै आफ्ना बालबच्चाहरूलाई पढाउनुपर्छ भन्ने ज्ञान फैलिँदै गएको छ । एउटी आमाले आफ्ना छोराछोरीलाई पढाउनको लागि दिनभर ढुङ्गा कुँदेकी हुन्छिन् । गिटी कुटेकी हुन्छिन् । बाटोमा कतै दुई चार रुपैयाँ भेटाइन् भने विद्यालयको शुल्क तिर्नका लागि जतन गरेकी हुन्छिन् । भुराहरूको पढाई खर्च जुटाउन बाबु खाडी मुलुक धाएका हुन्छन् । आफू नखाएर पनि बालबच्चाहरूलाई शिक्षा दिएकै हुन्छन् । यो सब गर्नुको उद्देश्य शिक्षाको महत्व बुझेर नै हो । यस किसिमको शिक्षाप्रतिको लगामले बालबालिकाको भविष्य निश्चय नै उज्वल हुन जानेछ ।
एउटा बालकलाई राम्रो शिक्षा दिन सकियो भने भविष्यमा उसले देशलाई ठूलो योगदान दिन सक्छ । त्यसकारण विभिन्न देशहरूले शिक्षामा धेरै लगानी गरेका हुन्छन् । अहिलेको लगानी भविष्यका लागि उत्पादनशील हुने भएकाले विकासको गति झनै बढ्न सक्नेछ । हो, अहिलेको लगानी फजुलजस्तो देखिएला तर यही लगानीको कारणबाट भविष्यमा देशको अनुहार उज्वल हुनेछ । शिक्षाको विकासले नै विज्ञान र प्रविधिको विकास हुने हो । त्यसकारण आजको २१ औँ युगमा शिक्षाको विकास गर्नुको विकल्प छैन ।
आजको युगमा विज्ञान तथा प्रविधिले यति ठूलो फड्को मारेको छ कि कल्पनै गर्न नसकिने गरी विकास भएको देखिन्छ । सञ्चारमा भएको प्रगतिले त गर्नसम्म गरेको छ । एक क्लिकको भरमा विश्वका कुना काप्चामा कुनै पनि संदेश पठाउन सकिन्छ । बिहान अमेरिकामा नास्ता खाएर हिँडेको व्यक्ति दुईचारवटा देश घुमेर पुनःअमेरिका फर्कन सम्भव भएको छ । यो सबै शिक्षाकै देन हो । हरेक क्षेत्रमा अहिले भएका विकास शिक्षाले नै दिएको हो । त्यसैले प्रत्येक नागरिकले शिक्षाको महत्व बुझ्न जरुरी छ ।