वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अवैध आप्रवासीहरूविरुद्धको कारबाही तीव्र पारिएको छ । हरेक दिन लगभग १२ सय अवैध आप्रवासीहरु पक्राउ परिरहेका छन् । उनीहरुलाई हिरासत केन्द्रहरुमा राखिएको छ । अहिले सबैजसो हिरासत केन्द्रहरु भरिएका छन् ।
लस एन्जलस, मियामी, एटलान्टा र क्यान्ससलगायत नौ संघीय जेलहरूमा अन्य खतरनाक अपराधीहरूसँगै अवैध आप्रवासीहरूलाई राखिएको छ । अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीआई) हिरासत केन्द्रमा केवल ४१ हजार मानिसहरूलाई मात्र राख्ने क्षमता छ ।
ट्रम्पका सीमा जार होम्स होमेनले प्रहरी आयुक्तहरूलाई अवैध आप्रवासीहरूको पहिचान गर्न र पक्राउ गर्न आदेश दिएका छन् । यसका लागि प्रहरी कार्यदल पनि गठन गरिएको छ । यसले सडकबाट मानिसहरूलाई पनि पक्राउ गर्न सक्छ ।
अमेरिकन सिभिल लिबर्टीज युनियनका अनुसार जेलहरूको अवस्था भयावह छ । अवैध आप्रवासीहरूलाई समयमै खाना दिइएको छैन भने उनीहरूलाई बाँडिएको खाना बासी र गनाउनेछ ।
कडा जाडोमा अवैध आप्रवासीहरू चिसो भुइँमा सुत्न बाध्य छन् । उनीहरूलाई जेलको सबैभन्दा जीर्ण कोठामा कोचिएको छ । दिनभरि आधा घण्टाको लागि मात्र अवैध आप्रवासीहरूलाई कोठरीबाट बाहिर निकालिन्छ । ट्रम्पले २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि अवैध आप्रवासीहरूलाई जेलमा राख्न आदेश दिएका थिए, तर त्यो कार्यान्वयन हुन सकेको थिएन् ।