काठमाडौं । द कोका–कोला फाउन्डेसनले साहारा नेपाल र बराहा क्लाइमेटएजी प्रालिसँगको सहकार्यमा नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।
‘स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एन्ड एग्रोफरेस्टी इन नेपाल’ नामक मुख्य परियोजनाअन्तर्गत यो पहल सुरु गरिएको हो । यसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटन आइतबार काठमाडौंमा आयोजना गरिएको थियो । यस कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकूलताजस्ता समस्याले स्थितिलाई झनै गम्भीर बनाएको छ । यी चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैँचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको जनाइएको छ । यो कार्यक्रममा बगैँचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ । यसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधीकरण गर्न सहयोग पुर्याउनेछ ।
द कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले फाउन्डेसनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको बताए । नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुने उनको भनाइ छ । वृक्षारोपण कार्यक्रमको पहिलो चरणअन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ । त्यस्तै, दोस्रो चरणमा कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा वृक्षारोपण विस्तार हुनेछ । यस पहलमार्फत हजारौं कृषकहरूले फलफूल उत्पादन वृद्धि, बाली विविधिकरण, माटोको स्वास्थ्य सुधार, पानी संरक्षण, रोग नियन्त्रण र आम्दानीका अतिरिक्त अवसरहरू प्राप्त गर्नेछन् ।
यस परियोजनाले वातावरण संरक्षण र आउँदो पुस्ताका लागि जमिन व्यवस्थापनमा योगदान पु¥याउने बताइएको छ । साथै, यस परियोजनाले कार्बन क्रेडिट प्रणालीको पनि समावेश गर्दै कृषकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै थप आम्दानीका अवसरहरू पनि प्रदान गर्नेछ । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले यो पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पुनरुत्पादक वृक्षारोपण प्रविधि अपनाएर यस परियोजनामार्फत कृषकहरूको जीवनस्तर सुधार गर्नुका साथै भूमिको दिगोपना बढाउन र जलवायु परिवर्तनको सामना गर्न सहयोग गर्ने उनको भनाइ थियो ।