भद्रपुर (झापा) । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड रुपैयाँ, अलैँची चार अर्ब २२ करोड ६० लाख रुपैयाँ, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको उनले बताए ।
यस्तै, अदुवा २६ करोड १३ लाख रुपैयाँ, अम्लिसो ४९ करोड ७४ लाख रुपैयाँ, बन्दा आठ करोड १७ लाख रुपैयाँ, जडीबुटी दुई करोड ६३ लाख रुपैयाँ, मसुरो दाल एक करोड ५५ लाख रुपैयाँ मूल्यको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए ।
आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याड्ढअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार रुपैयाँ, चामल तीन करोड तीन लाख रुपैयाँ, ताजा तरकारी १८ करोड २३ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।