काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सकिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित यो ३०औँ संस्करण राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।
सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ । क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका विश्वस्तरीय ब्रान्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, ई–कमर्स, साइबर सुरक्षा समाधान, ब्लकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । विशेषगरी, नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेसन तथा स्वदेशीरूपमा विकसित प्रविधिहरूमा उल्लेख्य आकर्षण देखिएको आयोजकले जनाएको छ ।
यस्तै, मसिन लर्निङमा आधारित एआई टुल, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिजस्ता परियोजनाहरू अवलोकनकर्ताको मुख्य चासोको केन्द्र बनेका थिए । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापीरूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । ३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका थिए । त्यस्तै, गोल्ड स्पोन्सरमा गोगोरो, सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई र अनलिमिटेड टेक्नोलोजी (ज्याप) रहेका थिए । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क कम्युनिकेसन्स, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, डिजिटल एड्रेस पार्टनरमा कता हो, प्रिन्टिङ पार्टनरमा क्यानन, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, मोबिलिटी पार्टनरमा टुटल, इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस र सीसीटीभी पार्टनरमा आईएमओयू रहेका थिए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन् । उनका अनुसार महासंघले डेटा प्रोटेक्सन ऐन, राइड सेयरिङ नीति, एआई प्रविधिका लागि आवश्यक डेटा व्यवस्थापन तथा वैदेशिक लगानी ऐनमा संशोधन गर्नेजस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माणमा सक्रियता देखाएको छ । यस संस्करणको क्यान इन्फोटेकलाई दुई लाख बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा एक सय ५५ स्टल सहभागी भएका थिए, जसअन्तर्गत विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गरे । कम्पनीहरूले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न अफरमार्फत प्रवद्र्धन गरेका थिए । मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष अफरहरू प्राप्त गरे ।
क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासंघले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि पहल गर्ने योजना बनाएको उनले बताए ।