कोलम्बो, साउन ७
श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागूऔषध पुनस्र्थापना केन्द्रमा कोभिड–१९ संक्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल अन्तर्राष्ट्रिय विमानस्थललाई खुला नगर्ने जनाएको हो ।
विमानस्थल तथा उड्ययन सेवा कार्यालयका एक विरिष्ठ अधिकारीले सिन्ह्वालाई दिएको जानकारीमा राष्ट्रपतिको कार्यालय र स्वास्थ्य अधिकारीहरूबीचको छलफलपछि श्रीलंकाले आगामी अगस्टदेखि पुनः सञ्चालनमा ल्याउने भनिएका अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा आगामी सेप्टेम्बरको सुरूसम्म यथावत बन्द राख्ने बताएका छन् । यो निर्णय विदेशबाट श्रीलंका प्रवेश गर्ने यात्रुका लागि कडारूपमा लागू गरिने उनले बताए । मार्चमा बन्द गरिएका विमानस्थललाई आगामी अगस्टमा सञ्चालनमा ल्याउने तयारी गरिरहेका समय सरकारले यो निर्णय गरेको हो ।
‘हामीले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन कोभिड–१९को महामारीको वर्तमान् अवस्थाका कारण मिति त तय गरिसकेका छैनौँ तर सम्भवतः सेप्टेम्बरको कुनै दिनबाट सेवा चालू हुनेमा विश्वस्त छौँ’, उनले भने । पछिल्ला दिनमा क्वारेन्टिनस्थलमा विदेशबाट आउने मानिसको सङ्ख्या बढेकोले यसलाई एक महिनापछि सार्ने निर्णय भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार श्रीलंकामा कोभिड–१९ संक्रमितको संख्या दुई हजार ७ सय ३० पुगेको छ । यसमध्ये दुई हजार ४८ जना निको भई घर फर्किएका छन् । अहिले कोभिड–१९ सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ रहेको छ । मंगलबार संक्रमितमध्ये केही कन्डाकाडुका स्थानीय रहेका छन् । श्रीलंकामा मंगलबारसम्म कोभिड–१९ संक्रमित ११ व्यक्तिको मृत्यु भएको छ ।