अमेरिका, साउन ७
अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको सेयर पछिल्लो समय लगातार वृद्धि हुँदा सीईओ एलन मस्कले सोमबार एकै दिन पाँच अर्ब अमेरिकी डलर सम्पत्ति जोड्न सफल भएका छन् । योसँगै उनी विश्वका पाँचौँ ठूला अर्बपतिमा उक्लिएको न्युयोर्क पोष्टले जनाएको छ ।
मस्कसँग ७४ अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ । केही हप्ता अघिसम्म उनी विश्वका ठूला २० अर्बपतिमध्ये पर्थे तर सेयर बढ्दा उनी पाँचमध्ये पर्न सफल भएका हुन् । उनीभन्दा अगाडि फेसबुकका सीईओ मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स, विलासी वस्तुका व्यवसायी बर्नार्ड आर्नल्ट र अमेजनका प्रमुख जेफ बेजोस छन् ।
सोमबार कम्पनीको सेयर ९.५ प्रतिशतले बढेको थियो । उक्त दरले वृद्धि भएसँगै टेस्लाको प्रतिकित्ता सेयर मूल्य १ हजार ६ सय ४३ अमेरिकी डलर पुगेको छ । कम्पनीले आफ्नो आम्दानी रिपोर्ट पनि सार्वजनिक गर्नलागेको छ । कम्पनी लगातार चौथो त्रैमासिकसम्म नाफामा गएको छ ।
कम्पनीको मार्केट क्याप टोयोटाको भन्दा १०० अर्ब डलर बढी अर्थात् ३०५ अर्ब डलर पुगेको छ । मार्केट क्यापको हिसाबले टेस्लाले टोयोटालाई पनि उछिनेको हो । मस्क अन्तरिक्ष कम्पनी स्पेस एक्सका पनि प्रमुख हुन् । स्पेस एक्सले केही समयअघि मात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा अमेरिकी भूमिबाट वर्षौँपछि अन्तरिक्ष यात्रीसहितको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो । मस्कले टेस्ला कारहरु पछिल्लो समय चीनबाट पनि उत्पादन हुनथालेका छन् । टेस्लाले पछिल्लो समय बजार हिस्सामा पनि निकै सफलता पाएको छ ।