काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्लाइन भूमिगत गर्ने क्रममा मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको पाइपलाइनमा क्षति पुगेको छ । काठमाडौंको बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनि बिच्छ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीकोे पाइपलाइनमा क्षति पुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जानकारी दिएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट वन परिसरतर्फको सडकमुनि बिच्छ्याइएको २० इञ्चको पाइपलाइन प्राधिकरणको ठेकेदार कम्पनी केईआईले निर्देशनालयबाट उपलब्ध गराइएको थोक वितरण प्रणालीको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको केयूकेएलले आरोप लगाएको छ । वन परिसर अगाडिको सडकमा विद्युत्लाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङपश्चात् रिमिङ गर्दा असावधानीवश उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको पीआईडीका आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।
पीआईडीबाट हस्तान्तरण भई काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सञ्चालनमा रहेको उक्त पाइपलाइनमा हाल मेलम्चीको पानी पठाउन बन्द गरिएको छ । साथै, क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न प्राधिकरणलाई आग्रह गरिएको पीआईडीले जनाएको छ । यसअघि पीआईडीले काठमाडौं उपत्यकामा बिच्छ्याइएका मेलम्चीका थोक वितरण प्रणाली र वितरण सञ्जालका पाइपलाइनमा क्षति नपुग्नेगरी निर्देशनालयसँग समन्वय गरेर मात्र विद्युत्लाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माण÷मर्मत गर्नेलगायतका कार्य गर्न सम्बन्धित निकायहरूलाई पटकपटक आग्रह गरेको पनि जनाएको छ ।
यस्तै, खानेपानीमन्त्री प्रदीप यादवले पाइपलाइन फुटेको क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री यादवले प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताए । विद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा कहाँ–कहाँ खानेपानीका पाइपहरू छन्, सो विषयमा मन्त्रालयसँग समन्वय गर्न आवश्यक रहेको बताए । मन्त्री यादवले फुटेको पाइपलाइन तत्काल मर्मत गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टीकाबहादुर चौधरीले फुटेको पाइप मर्मत गरी सेवा सुरु गरिने जानकारी दिए ।पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवनहरू जलमग्न बनेका थिए । मन्त्री यादव, मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, केयूकेएलका सीईओ अशोककुमार पौडेल, पीआईडीका प्रमुख टीकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबरमहल पुगेको थियो ।