काठमाडौैं,अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । बजेट निर्माणको तयारी गर्नुपर्ने समय आएपछि अर्थमन्त्री पौडेलले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरी नयाँ टिम तयार पारेका हुन् ।
अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी मदन दाहाललाई दिएका छन् । उनी अर्थ मन्त्रालयका प्रशासन महाशाखामा थिए । यस्तै, सहचिव तीर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ । यसअघि उनी अर्थ मन्त्रालयमै थिए । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र, व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाइएको छ ।
सहसचिव महेश भट्टराईलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । उनी योजना अनुगमन तथा मूल्यांकन महाशाखामा थिए । योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा श्यामप्रसाद भण्डारीलाई लगिएको छ । उनी महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक थिए ।सहसचिव थान प्रसाद पंज्ञानीलाई मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ । यसअघि उनी मन्त्रालयकै वित्तीय, संघीयता समन्वय महाशाखामा थिए । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख शोभाकान्त पौडेललाई आर्थिक नीति, विश्लेषण महाशाखामा सरुवा गरिएको छ । आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्यलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख बनाइएको छ ।
सहसचिव पार्वती अर्याललाई प्रमुख भन्सार परीक्षण प्रशासक भन्सार जाँचपास पछिको परीक्षण कार्यालयमा पठाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराललाई वित्तीय, संघीयता समन्वय महाशाखामा सरुवा गरिएको छ । भन्सार विभागकी उपमहानिर्देशक यमुना प्रधानलाई महालेखा नियन्त्रकको कार्यालयमा सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारीमा गोपीकृष्ण कोइरालालाई पठाइएकोे छ । यसअघि उनी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थिए । यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा पठाइएको छ ।