समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई)सम्बन्धी विविध जानकारी प्रदान गरिएको फाइनान्सले जानकारी दिएको छ ।
कार्यक्रम समृद्धि फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभार श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बीएफआईहरूको संगठन प्रक्रिया, कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नताजस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरियो । साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो ।
विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजी एस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।