काठमाडौं । डोटीको अमरगढी नगरपालिका–१ स्याउले बजारबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ सात सय ८४ ग्राम सहित बझाङ छबिसपाथीभेरा गाउँपालिका–३ बस्ने ७१ वर्षीय चन्द्रदेव जैशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट खटिएको प्रहरीले ना. ७ ख ४०९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध अफिम चार किलोग्राम, गाँजा करिब सात किलो दुई सय ग्राम, नगद २० हजार रूपैयाँ र मोबाइल एक थानसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–१३ डमरपुर बस्ने २२ वर्षीय सञ्जय मोक्तान र धादिङ गजुरी गाउँपालिका–३ नाङगी टोल बस्ने २९ वर्षीय सुन बहादुर थिङग रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध ब्राउनसुगर चार मिलिग्रामसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बाबु चोक बस्ने २५ वर्षीय अनिष बिक र सोही उपमहानगरपालिका–८ कमाने बस्ने २२ वर्षीय दिवाकर दाहाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.३–००६ प ००७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।