काठमाडौं, साउन ७
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण सामाजिक दूरी कायम गरी यसवर्ष सरलरूपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष रवेतबहादुर लावतीले संयुक्तरूपमा संघको झण्डोत्तलन गरेका हुन् ।
संघको वािर्षकोत्सवको अवसरमा रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजाप रिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरे । त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले संयुक्तरूपमा वृक्षारोपण गरेका थिए । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरूको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।
वार्षिकोत्सवको कार्यक्रममा सघंका वरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी, उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायत संघका कार्यकारिणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको संवद्र्धन गर्ने उद्देश्यले २०४७ श्रावण ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । श्रावण ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवतरूपमा सुरुवात भएको महत्वपूर्ण दिन हो ।