काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ ।
यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ । सम्झौतापत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा वा पूर्ण स्थायी अशक्त भएमा आठ लाख रूपैयाँ रकम भुक्तानी हुनेछ । यस्तै, दुर्घटनाको कारणले औषधोपचार गर्नुपरेको अवस्थामा ८० हजार रूपैयाँ रकम भुक्तानी गर्नेछ भने नाबालिक यात्रुहरूको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ ।
इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेलले बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्ने बताइन् । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिङ वातावरण निर्माण गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाउने उनको दाबी छ ।