काठमाडौं । कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डल बाराको कलैया उपमहानगरपालिका–१, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा मृत भेटिएका छन् । मण्डलको शव शुक्रबार बिहान फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको खुलेको छ ।
हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी सन्तोष तामाङले सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताए । परिवारले राखेका मण्डलमाथि लागुऔषध दुर्व्यसनी राख्ने सुधार केन्द्रमा त्यहीँका अन्य व्यक्तिहरूले कुटपिट गरेका कारण उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले जानकारी गराए ।
एसपी तामाङकै नेतृत्वमा घटना सुरुमै शंकास्पद लागेपछि प्रहरी टोली सुधार केन्द्रमा पुगी सुरुमा सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अरू दुईजना फरार रहेका उनले जानकारी दिएका छन् । प्रहरीले पछि थप एक गरी सातजनालाई पक्राउ गरेको छ ।