काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो क्षेत्रका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक सय ६७ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ५८ पैसा बढेर र डिजेलमा तीन रुपैयाँ ५९ पैसा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।