काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने बताएका छन् । शनिबार बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले बुटवल सहर पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको उल्लेख गरे । यस क्षेत्रमा धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको उनले बताए । आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवललाई महानगरपालिका बनाउन पनि सकिने उल्लेख गरे । यस्तै, उनले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताए । संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि अहिले सरकार बनेको उनले उल्लेख गरे ।
‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकताअनुसार संसद्का दुई ठूला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन’, उनले भने ‘संघीयताको मूल भावनाअनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ ।’ उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले बुटवलको विकासको लागि सहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।