म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई पाँच/पाँच करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चिता गरेको हो । घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ–आलुबारी–याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाटीसम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य विकल शेरचनले जानकारी दिए । ‘भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।’
करिब १३ किलोमिटर दूूरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो बस्ती धमाङमा ठूलो स्याउ बगैँचा छ । परापूर्वकालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडीबुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ । याकखर्क धौलागिरि चक्रीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरूलाई सहज हुनेछ । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुँदै घुयुमा ठाँटी सडकबाट स्थानीयवासीका साथै दामोदरकुण्ड जाने आउने तीर्थयात्री र पर्यटकहरूलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए ।
धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए । गत वर्ष बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउन १०÷१० करोड रुपैयाँ बजेटको योजना सुरु भएको थियो । रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवतजावत गर्न सहज हुनेछ ।
दुईवटै योजना ठेक्कामार्फत निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि नौ करोड १२ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए ।