काठमाडौं । सेयर धितो कर्जा अर्थात् मार्जिन लोन शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा एक खर्ब १३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ अर्ब ४८ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष पुससम्म सेयर धितोमा मात्र कुल ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८१ पुससम्म बैंक तथा वित्तीय संस्थाले कुल ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख निक्षेप सङ्कलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरुले २०८१ पुससम्म ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा शेयर धितोमा ९१ अर्ब ५४ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा २५ अर्ब ६८ करोड रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ खर्ब २९ अर्ब ६८ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ८७ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा शेयर धितोमा ६५ अर्ब ८६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बिकास बैंकहरुले २०८१ पुस मसान्तसम्म छ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा शेयर धितोमा १८ अर्ब १८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा तीन अर्ब ४१ करोड ४० लाख रुपैयाँ बढी हो । गत वर्ष पुससम्म विकास बैंकहरुले पाँच खर्ब ८४ अर्ब तीन करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ९६ अर्ब ९४ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा शेयर धितोमा १४ अर्ब ७७ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।
फाइनान्स कम्पनीहरुले २०८१ पुस मसान्तसम्म एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा चार अर्ब पाँच करोड रुपैयाँ लगानी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ३९ करोड ३० लाख रुपैयाँले बढी हो । गत वर्ष पुस मसान्तसम्म फाइनान्स कम्पनीहरुले एक खर्ब १७ अर्ब ३३ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९४ अर्ब ५४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा तीन अर्ब ६५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।