काठमाडौं, साउन ८
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय मुलुकभर भएको वर्षाका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थामा समन्वय र सहजीकरण गर्न मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महशाखाका सहसचिवको संयोजकत्वमा -यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको छ । मंगलबार उद्योगमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा देशभर भइरहेको वर्षाका कारण बाढी तथा पहिरोबाट भएको धनजनको क्षति न्यून गर्न एवं सरकारी तथा निजी क्षेत्रको समन्वयमा आपूर्ति प्रणालीलाई व्यवस्थित तवरले सुचारु गर्न अपनाउनुपर्ने विषयमा भएको छलफलको क्रममा सो निर्णय गरिएको हो ।
जेठ ३० देखि सुरु भएको मनसुनका कारण पछिल्लो समयमा भने मुलुकको विभिन्न स्थानमा बाढी पहिरो जाँदा मानवीय तथा भौतिक पूर्वाधारको क्षति हुनपुगेको छ । मन्त्रालयमा बसेको सो बैठकले राहत उपलब्ध, विपद्को समयमा कृत्रिम अभाव नियन्त्रण, आपूर्ति सहजलगायत आठवटा निर्णय गरेको मन्त्रालयकी उपसचिव उर्मिला केसीले बताइन् । मन्त्रालयमा भएको छलफलमा विपद् प्रभावितहरुको राहतको लागि आवश्यक पर्ने खाद्य वस्तुहरुमध्ये दाल, नुन, चामल, तेलजस्ता दैनिक अति आवश्यक सामग्रीहरु गृह मन्त्रालयका अनुरोधमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले उपलब्ध गराउने व्यवस्था मिलाउने तथा विपद्को समयमा कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने निर्णय गरिएको छ ।
यता गृह मन्त्रालयले भने बाढी पहिरोबाट क्षति भएमा तत्काल गुजारा चलाउनको लागि १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म नगद राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ भने उद्धारको लागि समेत जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । त्यसैगरी दैनिक उपभोग्य खाद्यवस्तुको ढुवानीलाई प्राथमिकताका साथ सञ्चालन गर्ने गराउने एवम आन्तरिक उत्पादन (तरकारी, फलफूल समेत) को ढुवानी र बजार व्यवस्थापन गर्न सबै सरोकारवाला निकायहरुले सहजीकरण गर्न र नेपाल आयाल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कम्पनीले आआफ्नो मौज्दात बढाउने, वैकल्पिक उपाय समेत प्रयोग गरी आपूर्ति सुचारु गर्ने कर्मचारी हालतमा राख्ने र आवश्यक पर्नासाथ परिचालन गर्न सकिने व्यवस्था मिलाउन समेत सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।
यस्तै आपूर्ति व्यवस्था सहज पार्न अन्तर्राष्ट्रिय व्यापार हुने मार्ग र अन्य व्यापारिक मार्गमा भएका अवरोध यथाशीघ्र छिटो हटाउन सडक विभागले पहल गर्ने, यसमा सुरक्षा निकायले आवश्यक समन्वय गर्न समेत आग्रह गरिएको छ भने निकायगत कार्य विभाजनका आधारमा समन्वयात्मक रुपमा उद्धार, राहत र पुनर्स्थापनाको कार्यलाई तदारुकताका साथ निरन्तरता दिन तथा निजी क्षेत्रले विपद्को समयमा आपूर्ति व्यवस्था सुचारु राख्न आ आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्न समेत आग्रह गरेको छ ।
बैठकमा मन्त्री भट्टका साथै उद्योग राज्यमन्त्री मोतिलाल दुगड, मन्त्रालयका सचिवहरु, तीनवटै सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला मन्त्रालय÷विभागका प्रतिनिधिहरु, निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरु, आपूर्ति व्यवस्थासँग सम्बद्ध निकायका प्रतिनिधिहरु सहभागी थिए ।