काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस बैंकबाट सबै सेवाग्राहीहरूलाई विश्वासनीय र सहज ढंगले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । उनले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिए ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतिमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा व्याजदर कायम गरेको बताए । उनले सस्तो व्याजदरको फाइदा उठाउँदै व्यवसायीहरूलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आह्वान गर्न गरे । प्रतिस्पर्धी बजारको मागअनुसार बैंकले सेवा र सुविधाहरूलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैँकले आफ्नो कार्यलाई परिमार्जितरूपमा अगाडि बढाएको बताए । साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दीपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्य प्राडा रामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा, कम्पनी सचिव प्रमोद अधिकारी, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्वसन्ध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरि कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
बैंकले हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पोस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोवाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।