विराटनगर, साउन ८
विदेश पठाइदिन्छु भन्दै रकम लिएर नेपालीहरूलाई बन्धक बनाउने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० बस्ने गोरे भन्ने नरबहादुर श्रेष्ठ रहेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी एक लाख ६० हजार रूपैयाँ र एक हजार अमेरिकी डलरसमेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पु-याएर बन्धक बनाएका थिए । २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पु-याई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका १० स्थित उनकै घरबाट पक्राउ गरेको हो । नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाई राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो । दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जानकारी दिएको छ ।