काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले संयुक्तरूपमा काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको पुर्ननिर्माणको अनुगमन गरेको छ । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा यी दुई संस्थाको सहयोगमा पुनर्निर्माणको काम भएको थियो ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवासीय प्रतिनिधि कायको युकोसुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यान्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो । पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षति एवं जीविकोपार्जनका लागि गत पौष महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो । बाढी पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकूलन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रमअन्तर्गत सिँचाइ नहर, सामुदायिक सडकहरू, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाइ गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भइरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निजी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए । चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जीविकोपार्जनमा उल्लेख्य उपलब्धि हासिल भएको बताए । युएनडीपीका आवासीय प्रतिनिधि कायको युकोसुले चेम्बरसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधिको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराइएको थियो ।