काठमाडौँ । नेपाल बीमा प्राधिकरणको भावी अध्यक्षको लागि पाँच जना सर्टलिस्टमा परेका छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि डा देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल, विनोदकाजी श्रेष्ठ, कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझासहितका १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा अध्यक्षका लागि सर्टलिस्टमा परेका हुन् ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि प्राधिकरण अध्यक्षविहीन बनेको थियो । सोपश्चात् २०८१ पुस २६ गते प्राधिकरणले अध्यक्ष पदको लागि आवेदन माग गरेको थियो । सोही आधारमा १२ जनाले अध्यक्ष पदको लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका पाँच जनालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि यही फागुन १० गते बोलाइएको प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि बनेको सिफारिस समितिले जानकारी दिएको छ ।