काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कलिंगा इन्स्टिच्युटमा वि–टेक तेस्रो वर्षमा अध्ययन गरिरहेकी प्रकृति लम्साल आइतबार कलेजको छात्रवासमा मृत भेटिएकी थिइन् ।
क्याम्पस प्रशासनले आत्महत्या भने पनि लम्सालको मृत्यु शंकास्पद रहेको भन्दै क्याम्पसका नेपाली विद्यार्थीहरू आन्दोलित भएका छन् । नेपाली विद्यार्थीहरूले सो क्याम्पसमा आन्दोलन गरेपछि क्याम्पस प्रशासनले उनीहरूमाथि दमन गरेको छ । क्याम्पसले नेपाली विद्यार्थीहरूलाई क्यापस र उनीहरू बसेको छात्रवासबाट नै निकाला गरेको त्यहाँस्थित नेपाली विद्यार्थीहरूले जानकारी दिएका छन् । नेपाली विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले पनि आन्दोलन गरेको छ । परिषद्ले सोमबार दिनभर क्याम्पस परिसरमा आन्दोलन गरेको हो ।
सो घटनाको सन्दर्भमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, दूतावासले क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ । दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिष्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको जनाएको हो ।
साथै, संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत दूतावासले अनुरोध गरेको छ । ‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ’, दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको जनाएको छ । यस्तै दुतावासले प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न आग्रह गरेको छ ।