काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले एमडीआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका एक सय जना एमडीआरटी अभिकर्ताहरूलाई भव्य समारोहका बीच सम्मान गरेको छ ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए । उनले अभिकर्ता सञ्जालको व्यावसायीकरणलाई सधैं उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी गराए । जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यावसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नोतर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरूलाई व्यवसायमा सहज भइरहेको बताउँदै एमडीआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि तीन करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडीआरटी तीन जनाले सीओटी र दुई जनाले टीओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै एक सय जना अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए । साथै, निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडीआरटी अभिकर्तारूपक पराजुली र सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख, शाखा प्रमुखलगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
विभागीय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरूको समेत उपस्थिति रहेको सो भव्य समारोहमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेस लिडरहरूले बताएका थिए ।