काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक भएको बताए । लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरसहितको यो डिभाइस नेपाली बजारमा सार्वजनिक गरिएको उनले जानकारी दिए । शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टीमा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्ससहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ । शाओमी प्रोफोकस र ६० एफपीएससहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउने बताइएको छ ।
मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित शाओमी १४ टीले मल्टीटास्किङ, गेमिङ र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्छ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारीरूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्छ । यसमा छ दशमलव ६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसले १४४ हर्जको रिफ्रेस रेटसहित स्मुथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ । यो फोनमा चार हजार निट्सको पीक ब्राइटनेस, एचडीआर १० प्लस सपोर्ट र एक दशमलव पाँच के रिजोलुसन रहेको छ । यो फोनमा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसन र ब्याट्री अप्टिमाइजेसनजस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् ।