काठमाडौं । खुद मुनाफा घटेका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाहरू आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन् । तर ती बैंकहरूको सञ्चालन खर्च भने बढ्दै गएकोे छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा आधा खर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले पुससम्म कर्मचारीहरूको पारिश्रमिकमा ३२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि २१ अर्ब चार करोड ४० लाख रुपैयाँ गरी कुल ५३ अर्ब ३९ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन अर्ब तीन करोड २० लाख रुपैयाँँले बढी हो । गत वर्ष पुस मसान्तमा कर्मचारीहरूको पारिश्रमिकमा ३० अर्ब ५१ करोड १० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनको लागि १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँँ गरी ५० अर्ब ३६ करोड ६० लाख रुपैयाँँ खर्च गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्र चालू आवको पुस मसान्तसम्ममा कर्मचारीहरूको पारिश्रमिकको लागि २८ अर्ब ४७ करोड ४० लाख र कार्यालय व्यवस्थापनको लागि १८ अर्ब २० करोड ८० लाख रुपैयाँँ गरी कुल ४६ अर्ब ६८ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ७१ करोड रुपैयाँँले बढी हो । गत वर्ष सोही अवधिमा बाँणिज्य बैंकहरूले कर्मचारीहरूको पारिश्रमिकको लागि २६ अर्ब ८४ करोड ६० लाख र कार्यालय व्यवस्थापनको लागि १७ अर्ब १२ करोड ६० लाख रुपैयाँँ समेत गरी कुल ४३ अर्ब ९७ करोड २० लाख रुपैयाँँ खर्च गरेका थिए । विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कर्मचारीहरूको पारिश्रमिकको लागि तीन अर्ब आठ करोड ९० लाख र कार्र्यालय व्यवस्थापनको लागि दुई अर्ब २५ करोड ३० लाख रुपैयाँँ समेत गरी कुल पाँच अर्ब ३५ करोड २० लाख रुपैयाँँ खर्च गरेका छन् । यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड ५० लाख रुपैयाँँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको पारिश्रमिकका लागि दुई अर्ब ९४ करोड १० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब १६ करोड ६० लाख रुपैयाँँ समेत गरी कुल पाँच अर्ब १० करोड ७० लाख रुपैयाँँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कर्मचारीहरूको पारिश्रमिकको लागि ७९ करोड १० लाख र कार्यालय सञ्चालनको लागि ५८ करोड ३० लाख रुपैयाँँ सहित कुल एक अर्ब ३७ करोड ४० लाख रुपैयाँँ खर्च गरेका छन् । यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ६० लाख रुपैयाँँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको पारिश्रमिकको लागि ७३ करोड ५० लाख र कार्यालय व्यवस्थापनको लागि ५६ करोड ३० लाख रुपैयाँँ समेत गरी कुल एक अर्ब २८ करोड ८० लाख रुपैयाँँ खर्च गरेका छन् ।