काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट करिब १९ खर्ब हाराहारी हुने भएको छ । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा राष्ट्रय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ मंगलबार पेस गरेको छ । जसमा आगामी आर्थिक वर्षको बजेटको आकार करिब १९ खर्ब पुग्ने उल्लेख छ ।
योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्गदर्शन पनि अर्थ मन्त्रालयमा पेस गरेको छ ।
यस आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेटभन्दा निकै कम खर्च हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले विनियोजित बजेटमा एक खर्ब ६७ अर्ब रुपैयाँ कम अर्थात् १६ खर्ब ९२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
लक्ष्यअनुसार बजेट खर्च गर्न नसकिरहेका बेला योजना आयोगले आगामी वर्ष चालू आर्थिक वर्षको बजेटभन्दा पनि ठूलो आकारको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।