काठमाडौं । नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्ना महत्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो । ‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्राडा सुदन झा, अधिवक्ता दीक्षा राउत र गंगा भण्डारीको समीक्षात्मक अध्ययन तथा सिफारिसमा तयार गरिएको हो । उक्त दस्तावेजमा प्रविधि नवप्रवर्तन, एआई अनुसन्धान, नैतिक एआई विकास, डेटा सुरक्षा तथा नियमन जस्ता विषयलाई केन्द्रमा राख्दै विभिन्न सिफारिस प्रस्तुत गरिएको छ । नेपालले नयाँ प्रविधिहरूको विकास तथा अनुसन्धानलाई प्रवर्द्धन गरेमा एआई क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्ने र विश्वव्यापी प्रतिस्पर्धामा उत्रिन सक्ने महासंघको धारणा छ । साथै, एआई प्रविधिको विकास गर्दा नैतिक मूल्यहरूलाई उच्च प्राथमिकता दिनुपर्ने, डिजिटल समावेशीकरण तथा मानव अधिकारको रक्षा गरिनुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी, एआई प्रविधिको विकास गर्दा नैतिकतालाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा क्यान महासंघले जोड दिएको छ । एआईको प्रयोगले कसैलाई पनि हानि नपुर्याओस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यसका साथै एआईको प्रयोगको लागि आवश्यक डेटाको सुरक्षाका लागि बलियो प्रणाली बनाउनुपर्नेमा पनि महासंघले सुझाव दिएको छ । डेटाको दुरुपयोग हुनबाट रोक्नको लागि कडा नियमहरू बनाउनुपर्ने कुरा उठाइएको छ । एआई प्रविधिको प्रयोगलाई नियमन गर्नका लागि स्पष्ट नीति र कानुन बनाउनुपर्ने सुझाव पनि क्यान महासंघले दिएको छ । त्यस्तै, एआईको विकास र प्रयोगलाई प्रभावकारी बनाउनको लागि विभिन्न क्षेत्रहरूबीच सहकार्य आवश्यक रहेको कुरामा पनि जोड दिइएको छ । अवधारणापत्रमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरू र अन्य सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने सुझाव समावेश गरिएको छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले वर्तमान डिजिटल युगमा नेपालले एआई प्रविधिको दिगो विकास गर्न उचित नीति तथा संरचनागत पहल आवश्यक रहेको बताइन् । एआईले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा प्रशासनिक क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याउने सम्भावना बोकेको भन्दै उनले क्यान महासंघले सरकारलाई नीति निर्माणका लागि ठोस दिशानिर्देश प्रदान गर्ने उद्देश्यले यो अवधारणापत्र तयार पारेको जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा शालिग्राम पराजुलीले एआई नीतिलाई अत्यन्त उत्कृष्ट बनाउन क्यान महासंघलगायतका सरोकारवालाको भूमिका र सहयोग महत्वपूर्ण हुने बताए । खुला र पारदर्शी वातावरणमा एआई नीति लागू गर्नको लागि सम्पूर्ण सरोकारवालाहरूको विचार, भावना र समर्थनअनुसार कार्यदिशा तयार गरेर अगाडि बढ्ने उनले जानकारी दिए । क्यान महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी चिरञ्जीवी अधिकारीले नेपालको एआई क्षेत्रलाई बलियो बनाउन एआई उद्यमी र नयाँ सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनका अनुसार सरकारले ल्याउन लागेको एआई नीतिले यसमा सहयोग गर्नेछ ।
सूचना प्रविधिविज्ञ प्राडा सुदन झाले यस अवधारणा पत्रले नेपाल सरकारलाई नीति निर्माणका लागि ठोस दिशानिर्देश प्रदान गर्ने बताए । नीति निर्माण गर्दा स्थानीय आवश्यकताहरू तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको उचित समायोजन आवश्यक रहेको उनको भनाइ छ । क्यान महासंघले दिएका सुझावहरूको मुख्य उद्देश्य नेपाललाई एआई–अनुकूल वातावरण तयार पार्ने तथा विश्वव्यापी एआई प्रविधिको विकासक्रममा प्रतिस्पर्धी बनाउनु रहेको महासंघका महासचिव चन्द्रविलास भूर्तेलले बताए ।
महासंघले एआईको स्पष्ट परिभाषा राख्नुपर्ने, एआई, मेसिन लर्निङ, डेटा प्राइभेसीजस्ता प्राविधिक शब्दहरूको परिभाषा समेटिएको शब्दकोश समावेश गर्नुपर्ने, डेटा व्यवस्थापनमा स्पष्टता प्रदान गर्नुपर्ने, अन्तरदेशीय डेटा साझेदारीसम्बन्धी व्यवस्था गर्नुपर्ने, नेपालको आफ्नै स्वतन्त्र र सक्षम डेटा केन्द्र स्थापना गर्नुपर्ने, राष्ट्रिय एआई इकोसिस्टम र मानव संसाधनमा लगानी गर्नुपर्ने, छात्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्ने र विश्वविद्यालयहरूमा एआई केन्द्रहरूको स्थापना गर्नुपर्ने, नेपाली भाषा र नेपालका विशेष आवश्यकताहरूको लागि एआई उपकरणहरूको विकास गर्नुपर्नेलगायतका सुझाव सरकारलाई दिएको छ ।