स्याङ्जा, साउन ८
स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरिएको छ । गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई बुधबार राहत वितरण गरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवासी इमानसिंह राना, गिमानसिंह थापा, टिकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेलाई नगद सहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
साथै पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको छ । संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो ।