काठमाडौं । नेसनल साइबर ओलम्पियाड २०८१ को प्लस टु संस्करणको पहिलो प्रतियोगिता आयोजना गरिएको छ । प्रशिक्षणको आयोजनामा भएको नेसनल साइबर ओलम्पियाड सोमबार काठमाडौंमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात गरिएको थियो ।
आयोजकका अनुसार यो कार्यक्रम फागुन १५ गतेसम्म चल्नेछ । यस कार्यक्रममा काठमाडौं उपत्यकाका ३० भन्दा बढी प्लस टु कलेज/स्कुलका टिमहरूले प्रतिस्पर्धा गर्दैछन् । नेसनल साइबर ओलम्पियाड सूचना प्रविधि क्षेत्रको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हो । यसमा सहभागी हुन कलेज/स्कुलका टिमहरूले फागुनको २ गतेसम्म दर्ता गराएका थिए । आयोजकका अनुसार यो प्रतियोगिताको पाँच वटा विद्यालयस्तरीय संस्करण भइसकेका छन् । प्लस २ संस्करण भने पहिलोपटक हुन लागेको हो । प्रतियोगिता क्वालिफाइङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा नकआउट पद्धतिबाट सञ्चालन हुनेछ ।
प्रतियोगितामा उत्कृट हुने टिमलाई ३० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गर्ने आयोजकले जनाएको छ । सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा गरी सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अध्यावधिक राख्ने अवसर प्राप्त गर्ने आयोजकको विश्वास छ ।