नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ६५ प्रतिशत प्रतिबद्धता प्राप्त भएको छ ।विभागका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२को सात महिनामा तीन सय ८६ उद्योगका लागि २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँबराबरको कुल विदेशी लगानी प्रतिबद्धता आएको छ । यसको ६५ प्रतिशत अर्थात् १७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँबराबरको लगानीप्रतिबद्धता पर्यटन क्षेत्रका उद्योगमा आएको छ । पर्यटन क्षेत्रमा एक सय ६८ उद्योगका लागि सो लगानी प्रतिबद्धता आएकोे विभागले जनाएको छ ।
पर्यटनपछि सेवा क्षेत्रमा सबैभन्दा धेरै २१ प्रतिशत अर्थात् पाँच अर्ब ६९ करोड ८७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । सेवा क्षेत्रका ४८ वटा उद्योग सञ्चालनका लागि सो लगानी प्रतिबद्धता आएको हो । यसपछि उत्पादन क्षेत्रमा आठ प्रतिशत अर्थात् दुई अर्ब १२ करोड २० लाख रुपैयाँबराबरको लगानीप्रतिबद्धता आएकोे छ । उत्पादन क्षेत्रमा २७ वटा उद्योग स्थापनाका लागि सो लगानी प्रतिबद्धता आएकोे हो ।
यस्तै सूचना प्रविधि र कृषि क्षेत्रमा कुल लगानी प्रतिबद्धताको तीन प्रतिशत आएको छ । सूचना प्रविधिमा ८० करोड ६८ लाख रुपैयाँ र कृषिमा ७४ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोे छ । सूचना प्रविधि क्षेत्रमा एक सय २४ वटा र कृषिमा छवटा उद्योग स्थापनाका लागि सो लगानी प्रतिबद्धता आएको हो ।
पुर्वाधार क्षेत्रमा १२ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । पूर्वाधारमा दुईवटा उद्योग सञ्चालनका लागि सो लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा कम ऊर्जा क्षेत्रमा एकवटा उद्योगका लागि दुई करोड ५५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट सात महिनामा दुई सय ११ वटा उद्योगका लागि २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस्तै स्वचालित प्रणालीबाट एक सय ७५ उद्योगका लागि दुई अर्ब ६२ करोड ८२ लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको छ ।
२०८१ साउनदेखि माघ महिनासम्म सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि एक अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ४२ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । विभिागका अनुसार तीन सय ७५ वटा साना उद्योग, सात वटा मध्यम र चारवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सबै उद्योगमा प्रतिबद्धता आएको लगानी भित्रिएमा १० हजार सात सय २६ जनाले रोजगारी पाउनेछन् ।
माघ महिनामा मात्रै ३२ उद्योगका लागि एक अर्ब छ करोड ५२ लाख ४५ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । माघमा ३० वटा साना उद्योग, दुईवटा मध्यम उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।
माघ महिनामा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत दुई उद्योगका लागि नौ करोड २२ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै १७ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । माघ महिनामा प्रतिबद्धता प्राप्त भएको लगानी भित्रिएमा देशमा थप छ सय ९८ जनाले रोजगारी पाउनेछन् ।विभागका अनुसार हालसम्म छ हजार सात सय ८५ उद्योगका लागि कुल पाँच खर्ब ४६ अर्ब ६० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । हालसम्म स्वचालित प्रणालीबाट तीन सय १४ उद्योगका लागि १० अर्ब ७४ करोड ४४ लाख रुपैयाँ र स्वीकृति प्रणालीबाट छ हजार चार ७१ उद्योगका लागि पाँच खर्ब ३५ अर्ब ८५ करोड ९७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताअनुसारको लगानी भएमा तीन लाख ३८ हजार नौ सय ६७ जनाले रोजगारी प्राप्त गर्नेछन् ।