काठमाडौँ । बैंकहरूको अन्तरबैंक कारोबार रकम घटेको छ । पछिल्लो समय निक्षेप बढेर गएपछि बैंक तथा वित्तीय संस्थाहरूबीच एक आपसमा हुने अल्पकालीन अन्तरबैंक कारोबार घटेको हो । निक्षेप बढेकै कारण बैंक तथा वित्तीय संस्थाहरूले छोटो अवधिको लागि अन्य बैंक तथा वित्तीय संस्थासँग सापटी लिने क्रम घटेसँगै अन्तर कारोबार रकम पनि घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा वाणिज्य बैंकहरूको सात ४५ अर्ब ९१ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले ९२ अर्ब ७ करोड गरी कुल आठ खर्ब ३७ अर्ब ९८ करोडको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ खर्ब ३७ अर्ब रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २३ खर्ब १६ अर्ब ९८ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले दुई खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोडको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार घटेसँगै यसको असर ब्याजदरमा पनि परेको छ । २०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ३७ प्रतिशत रहेकोमा २०८१ पुसमा यस्तो ब्याजदर घटेर दुई दशमलव ८१ प्रतिशतमा कायम रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा दुई दशमलव ८६ प्रतिशत रहेकोमा २०८१ पुसमा तीन प्रतिशत छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ६५ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ६१ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ५० प्रतिशत छ । २०८० पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ३५ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ४९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ७७ प्रतिशत थियो ।
चालू आवको पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७५ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ५६ प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमलव ६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ३२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ५५ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ६२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ६९ प्रतिशत, विकास बैंकहरूको १० दशमलव १० प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव १० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ३८ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव शून्य नौ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाको शाखा साढे ११ हजार
बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय ४५ पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ५७, विकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५४ वटा शाखाहरू सञ्चालनमा रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको सञ्चालनमा रहेको कुल शाखा संख्या ११ हजार पाँच सय ३० रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ५६, विकास बैंकहरूको एक हजार एक सय ३५, विकास बैंकहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा शाखाहरू सञ्चालनमा रहेका थिए ।