दोलखा । जिल्ला ट्राफिक कार्यालय दोलखाले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि माघसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार चार सय १४ वटा सवारीलाई कारबाही गरी सो रकम संकलन गरेको हो ।
सवारी कारबाहीबाट छ महिनामा २३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुरप्रसाद भट्टराईले बताए । यस्तै, सो अवधिमा जिल्लामा २० वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परी तीन महिला र चार पुरुष गरी सात जनाको मृत्यु भएको छ । जिल्लामा सवारी दुर्घटनाका घटना वृद्धि हुन थालेपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक सचेतना कार्यक्रमलाई पनि पछिल्लो समय प्राथमिकता दिएको जनाएको छ ।
कार्यालय जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमै पुगेर ट्राफिक नियमको पालना तथा सवारी दुर्घटनासम्बन्धी सचेतना दिँदै आएको कार्यालय प्रमुख भट्टराईले बताए । उनले बिहीबार पनि वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेकोे जलदेवी माध्यमिक विद्यालयमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालनासम्बन्धी सचेतना कार्यक्रम गरिएको जानकारी दिए । जनस्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीलाई सवारी दुर्घटना तथा ट्राफिक नियमको पालनासम्बन्धी सचेतना दिएको हो ।
कार्यालयले केही महिनाअघिदेखि दोलखाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित सडक यात्रा तथा सडक दुर्घटना न्यूनीकरण कक्षा चलाइरहेको छ । सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ, दुर्घटना रोक्न अपनाउनुपर्ने ट्राफिक नियमलगायतका सन्दर्भमा विद्यार्थीहरूलाई जानकारी दिइने गरिएको छ ।
सवारी दुर्घटना रोक्न विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी कार्यक्रम लिएर विद्यालयमै ट्राफिक प्रहरी पुगेको इन्चार्ज भट्टराई बताउँछन् । उनले विद्यार्थीहरूलाई सवारी यात्रा गर्दा ध्यान दिनुपर्ने ट्राफिक नियमको पालना, नियम उलङ्घन गर्दा हुने दुर्घटना तथा कारबाही, जेब्राक्रस गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना दिने गरेको बताए । विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गर्नुपर्ने, भिडभाडमा सवारी चलाउँदा ध्यान दिनुपर्ने सडक बत्ति,सडकपेटीमा हिँड्दा पैदल यात्रीले ध्यानदिनुपर्नेजस्ता चेतनामूलक विषयको प्रशिक्षण दिएको उनले बताए ।