काठमाडौं । नेपाली महिलाहरूको नेतृत्वमा सञ्चालित कम्पनीले कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवद्र्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ । यसले नेपाली किसानहरूले पारम्परिकरूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ ।
कम्पनीका अनुसार यी उत्पादनहरूमा कुनै रसायनिक प्रशोधन वा संरक्षक प्रयोग नगरिएकाले मानव स्वास्थ्यका लागि लाभदायक छन् । कम्पनीले ‘फाफर फ्लेक्स’, ‘भिगन प्रो’ ‘माइ चोइस’ तथा ‘प्यानकेक’ नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार ‘फापर फ्लेक्स’ टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो, यसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ । यो कम प्रशोधित खाद्य पदार्थ भएकोले पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ । कम्पनीको अर्को उत्पादन ‘भिगन प्रो’ टुसा उमारिएको मुङ, तिल र जडिबुटीबाट बनेको २५ प्रतिशत प्रोटिन युक्त पीठो हो । यसलाई बारा, सुप वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ । यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत भएको कम्पनीले जनाएको छ ।
यसैगरी ‘माइ च्वाइस’ टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो । यसले बच्चालाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्ने र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्ने कम्पनीको दाबी छ । प्यानकेक (मिठ्ठो गिले रोटी) जौँ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो । यो रसायन रहित उत्पादन भएकोले यसमा ओमेगा–३जस्ता पोषक तत्व भरपूर छ । यो स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक रहेको कम्पनीले जनाएको छ ।
कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्ने गरेको जनाएको छ । यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ । साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ । आगामी दिनमा कम्पनीले विश्व बजारमा नेपाली पहिचान सहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको उल्लेख गरेको छ । यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको जनाइएको छ ।