काठमाडौं, साउन ८
मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । १०औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौँंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । ग्राहकहरू, संस्थापक, सेयरधनीहरू, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरूहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनको भनाइ थियो । यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिना मात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताए ।
कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश वर्षको वित्तीय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन् । स्थापनाकालदेखि नै यस बैंकलाई सफल बनाउन हामीहरूले मिहिनेत गरेको बताउँदै उनले यो व्यावसायिक सफलताका लागि योगदान पु-याउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरिन् । बैंक स्थापनाको १०औं वर्षलाई विशेष वर्षका रूपमा मनाउन लागिएको सीईओ खुञ्जेलीले जानकारी दिइन् । उनका अनुसार, यसका लागि बैंकले वार्षिक क्यालेन्डर बनाएर वर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्वलगायत अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बैंकले बनाएको बताइन् । ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै वर्षभरि नै ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १०औं वार्षिकोत्सव मनाउने योजनामा छौं ।’ प्रमुुख कार्यकारी खुञ्जेलील भनिन् ।
१०औं वर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई आठ दशमलव ३२ प्रतिशतमा कायम राख्न सफल भएको छ । जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यवसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरूलाई मेगाले सस्तो ब्याजदरमै विभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ । यसैगरी, १०औं वार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरूले सेवाग्राहीहरूलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रवद्र्धन गर्न मदत गर्ने मेगा बैंकले विश्वास लिएको छ ।
बैंकले बितेको १० वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि गरेको छ । देशको २८औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १०औं वर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा)का आधारमा १२औं स्थानमा रहेको बैंकले जनाएको छ । २०७७ आषाढ मसान्तसम्ममा बैंकको कुल निक्षेप करिब एक खर्ब ३२ अर्ब र कुल कर्जा करिब एक खर्ब १४ अर्ब रहेको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका दुुई सय छ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस अघि बैंकले आफ्नो ‘एक शाखा–एक छोरी छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत बैंकका शाखाहरूबाट एक–एक जनाका दरले एक सय एक जना छात्राहरूको शिक्षाको लागि आर्थिक एवं शैक्षिक सामाग्री सहयोग गरेकोमा सोही छात्राहरूको यस बैंकमा बचत खाता खोली बैंकको तर्फबाट प्रत्येक छात्राको खातामा एक, एक हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ । छात्राहरूमा सानै उमेरदेखि बैंकमा बचत गर्ने बानीको पनि विकास होस भन्ने उद्देश्यले बैंकको तर्फबाट एक, एक हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको बैंकले जानकारी दिएको छ ।