काठमाडौं । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्ले निर्णय गरेका १३ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय रहेका छन् ।
सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने, संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत यही फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।