काठमाडौं, साउन ८
कुमारी बैंक लिमिटेडले पाल्पास्थित भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकका अनुुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाइन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको हो । बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादवबहादुर रायमाझीलाई हस्तान्तरण गरेका हुुन् ।
यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पु-याउनु रहेको बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय तीनवटा शाखा, एक सय ३८ एटीएम, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ एकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको छ । बैंकले आगामीदिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।