काठमाडौं । दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको बिहीबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री दाहालले विकास निर्माणका काममा प्राथमिकता निर्धारण जरुरी रहेको बताए । ‘मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पु¥याउन आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा छ’, उनले भने, ‘वस्तु आयातका लागि एक देशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’ प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीहरूको १५० बढी स्टल छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउने स्टलहरू रहेको आयोजक संस्थामध्येका मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपीभीसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्रीहरू रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्तरूपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि प्रमुख आकर्षण रहने प्रबन्ध निर्देशक भट्टराईले बताए ।
प्रदर्शनीस्थल बिहान १० देखि बेलुका ६ बजेसम्म खुला रहने र निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फागुन ११ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ४० देखि ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ ।