विराटनगर । नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोष ग्रामथान–२, झोराहाट मोरङबाट स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष विक्रम निरौलालाई दिने घोषणा गरिएको छ ।
कोषको शुक्रबार बसेको बैठकले बीबीसीका विराटनगर संवाददाता एवम् उद्घोष दैनिकका कार्यकारी सम्पादक समेत रहेका निरौलालाई सो पुरस्कार दिने घोषणा गरेको हो । ११ हजार एक सय ११ रुपैयाँ नगद राशिको सो पुरस्कार यही फागुन २७ गते मंगलबार एक समारोहबीच वितरण गरिने कोषका संरक्षक एवम् पत्रकार शंकर लुइँटेलले जानकारी दिए । मोरङ कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएकामध्येबाट छनोट गरी प्रत्येक वर्ष एक जनालाई सो पुरस्कार वितरण हुँदै आएको छ । विसं २०७८ सालबाट वितरण गर्न सुरु गरिएको सो पुरस्कारबाट यसअघि अभय राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् । यसैगरी सोही समारोहमा छत्रपति लुइँटेल स्मृति सेवानिवृत्त शिक्षक सम्मानबाट शिव अधिकारी र नारायण न्यौपानेलाई सम्मानित गरिने जनाइएको छ ।