काठमाडौं । नेपालमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले ओपी जिंदल विश्वविद्यालय (ओपीजेयू) र लिंक वेभ ग्लोबल स्टडीबीच सम्झौता भएको छ । सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. आरडी पाटीदार र लिंक वेभका कार्यक्रम निर्देशक कपुर थापाले हस्ताक्षर गरेका थिए ।
विश्वविद्यालयका उपकुलपति डा आरडी पाटीदारले ओपीजेयूले गुणस्तरीय शिक्षामा केन्द्रित रही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह एवं आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने गरेको बताए । यस्तै, उनले औद्योगिक सम्बन्ध मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिरहेको पनि जानकारी दिए । लिंक वेभका कार्यक्रम निर्देशक कपुर थापाले ओपीजेयूलाई नेपालमा सशक्तरूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । दुवै संस्थाले एक–अर्कालाई परिपूरक बनाउँदै नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू उपलब्ध गराउने उनको भनाइ छ ।
ओपी जिंदल विश्वविद्यालय इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा टेक्नोलोजीजस्ता लोकप्रिय पाठ्यक्रमहरूका लागि प्रख्यात छ । साथै, विश्वविद्यालयको आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकोले विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यावहारिक तालिम तथा रोजगारीको अवसर पाउनेछन् । यस समझदारीले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा, गुणस्तरीय प्रशिक्षण तथा रोजगारीका अवसरहरूमा सहज पहुँच पुर्याउने विश्वास गरिएको छ ।