काठमाडौं । एफवान सफ्टको सिस्टम ह्याक गरेर खातामा रहेको साढे तीन करोड रुपैयाँभन्दा बढी रकम चोरी भएपछि आफ्नै रकम सुरक्षित गर्न नसक्ने एफवान सफ्टले बैंकहरूको रकम कसरी सुरक्षित गर्छ ? भन्ने प्रश्न उब्जिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रयोग गरेको बैंकिङ सफ्टवेयर एफवान सफ्टले बनाएको हो । आफूले सफ्टवेयर बनाएर बिक्री गरेको एफवानले सिटिजन्स बैंकको दरबारमार्ग शाखामा आफ्नो कम्पनीको नाममा खाता खोलेको थियो । तर, केही समयअघि ह्याकरले बैंकको सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार हजार रुपैयाँ गायब बनाएको थियो ।
अक्टोबर १, २०२४ देखि अक्टोबर ४, २०२४ सम्म पटक–पटक ह्याक गरेर एफवान सफ्टको खाताको रकम निकालिएको थियो । पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरेबापत केही रकम बुझेको देखिएको थियो । प्रहरीले यो घटनामा २४ जनालाई प्रतिवादी बनाएर मुद्दा समेत दायर गरेको थियो ।
घटनापश्चात् एफवान सफ्टले बैंकहरूलाई बिक्री गर्ने सफ्टवेयर र यस्तो सफ्टवेयर प्रयोग गरिरहेका १६ वटा वाणिज्य बैैंकहरूमा रहेको सर्वसाधारणको निक्षेप कुन हदसम्म सुरक्षित रहेको छ भन्नेबारेमा प्रश्नचिह्न खडा भएको छ । एफवान सफ्ट बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयरहरू बनाएर बेच्ने कम्पनी हो । अहिले सञ्चालनमा रहेका २० वटामध्ये १६ वटा वाणिज्य बैंकहरूले एफवानकै सफ्टवेयरहरू प्रयोग गरिरहेका छन् । गत असोज २० गते बैंकिङ सफ्टवेयर तथा प्रविधि बनाएर बेच्ने गरेको एफवानकै खाताबाट झण्डै चार करोड रुपैयाँ हराएको थियो । पछि हराएको उक्त रकममध्ये तीन करोड रुपैयाँ भने भेटिएको भनिएको थियो । यो घटनाले कही बैंकहरूमा पनि सहकारीको जस्तो त हुँदैन भन्ने अर्को प्रश्न पनि खडा भएको छ ।
एफवान सफ्ट इलिगल पेमेन्ट गेट कम्पनी हो । किनकि आजसम्म पनि नेपालमा नेसनल पेमेन्ट गेट वे कम्पनी छैन । यस अर्थमा यो कम्पनी भनेको केही अमुक व्यापारीहरूले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नको लागि खोलिएको कम्पनी हो । अहिले यो कम्पनीबाट कानुनी छिद्रहरूको दुरुपयोग गर्दै रकम स्थानान्तरण हुनेगरेको छ । यस अर्थमा पनि एफवान सफ्ट केही बैंकर र व्यापारीहरूले आफ्नै व्यक्तिगत हित र आर्थिक लाभको लागि सञ्चालनमा ल्याएको कम्पनी हो । अहिले यही कम्पनीले बनाएको सफ्टवेयरहरू बैंकले प्रयोग गरिरहेका छन् । यी सफ्टवेयरहरू कतिको सुरक्षित रहेका छन्, बैंकिङ क्षेत्रमा यसको प्रयोग गर्नु कति जायज छ, कहीँ–कतैबाट पनि यसको चेकजाँच भएको छैन । यो अवस्थामा एफवान विनारोकतोक मुलुकको सिङ्गो बैंकिङ प्रणाली नै धराशायी हुनेगरी सफ्टवेयर बिक्री गरिहेको छ । बैंकहरूले पनि पूर्वबैंकर र उद्योगीहरूले सञ्चालन गरेको कम्पनीले बनाएको सफ्टवेयर भन्दै निर्बाधरूपमा प्रयोग गरिरहेका छन् । यो सफ्टवेयरको बारेमा न नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले चासो दिएको छ न त सरोकारवाला अन्य निकायले नै ।
यी सबै कुराको फाइदा उठाउँदै एफवानले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू समेतलाई सफ्टवेयर बिक्री गरिरहेको छ । यो कम्पनीले बनाएको सफ्टवेयर कति सुरक्षित रहेछ भन्ने कुराको पुष्टि कम्पनीको आफ्नै सफ्टवेयरबाट सिटिजन्स बैंकको दरबारमार्ग शाखामा राखेको आफ्नै रकम हराएपछि पुष्टि भइसकेको छ । तर, अहिले पनि यो सफ्टवेयर प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको आँखा खुलेको छैन । उनीहरू केही नभएको जस्तो गरी चुपचाप बसिरहेका छन् । राष्ट्र बैंक पनि यो मामलामा मौन अर्थात् चुपचाप बसिरहेको छ । एउटा इलिगल पेमेन्ट गेट वेबाट रकम हराउँदा यही गेट वे प्रयोग गरिरहेका धैरै बैंकहरूविरुद्ध पनि राष्ट्र बैंक मौन बस्नुलाई आजको दिनमा सामान्यरूपमा हेर्न सक्ने र मिल्ने अवस्था छैन ।